Nabin Sapkota
नदिइएको रिङ (The Ungiven Ring) cover

नदिइएको रिङ

The Ungiven Ring

October 22, 2026 · 14 min read

Share this story

उसलाई गुलाबको फूल मन पर्थ्यो।

यो एउटा त्यस्तो वाक्य हो, जुन समयले चाहेर पनि मबाट खोस्न सकेन। आज पनि कतै गुलाब फुलेको देख्दा मेरा पाइला आफैँ रोकिन्छन्। सडकछेउको नर्सरी होस्, कसैको पर्खालबाट बाहिर निस्किएको एउटा हाँगा होस्, क्याफेको टेबलमा पानीको बोतल काटेर घुसारिएको एउटा डाँठ होस् - आँखा एक्कासि त्यतै जान्छ।

अरूले गुलाब हेर्दा फूल देख्छन् होला। म तिमीलाई देख्छु।

कहिलेकाहीँ मलाई आफैँमाथि झिँझो लाग्छ। एउटा फूललाई कति भार बोकाउने? तर सम्झनाले अनुमति माग्दैन। आइहाल्छ। बस्। त्यस्तो बेला म केही सेकेन्ड त्यहीँ अडिन्छु, अनि मनमनै भन्छु -

“उसलाई तिमीहरू मन पर्थ्यो।”

फूल चुप रहन्छ। त्यसपछि आफैँलाई हाँसो लाग्छ। एउटा फूलसँग कुरा गरिरहेको छु। तर फूलले प्रश्न गर्दैन। “अझै सम्झिनुहुन्छ?” भन्दैन। “मुभ अन गर्नुस् न।” भन्दैन। अचेल मलाई जवाफ दिने होइन, चुपचाप सुन्ने कोही चाहिन्छ।

त्यही बेला हात आफैँ छातीतिर पुग्छ, र थाहा हुन्छ - मेरो घाँटीमा झुन्डिएको जन्तरको कालो डोरी छातीमा कति बिस्तारै दबिरहेको रहेछ। त्यो जन्तर आमाले सानोमा लगाइदिनुभएको हो। कहिल्यै फुकालिनँ। डोरी लामो छ। त्यसमा अझै ठाउँ छ।

तर त्यो कुरा पछि।


आज मेरो अगाडि एउटा रिङ छ। सानो बाकसभित्र, निकै सिम्पल। धेरै चम्किलो छैन, ठूलो स्टोन छैन, देख्नेबित्तिकै ध्यान खिच्ने किसिमको पनि होइन। मलाई सधैँ लाग्थ्यो - तिमीलाई यस्तै मन पर्थ्यो होला। देखावटी नभएको, सफा, आफ्नै किसिमले सुन्दर।

बाकस खोल्छु। केहीबेर हेर्छु। बन्द गर्छु। केही दिनपछि फेरि खोल्छु। रिङ उही छ। बदलिएको केही छैन। तर हरेकपटक अर्थ फरक लाग्छ। कहिले गिफ्ट। कहिले अधुरो प्रमिस। कहिले गल्ती। कहिले पछुतो। कहिले एउटा त्यस्तो भविष्य, जसलाई मैले कुनै समय अत्यन्त सामान्य कुरा जस्तो कल्पना गरेको थिएँ।

म त्यस रिङ उठाउँछु, औँलाबीच समात्छु। चिसो मेटल, हल्का, सानो। तर हातमा राख्दा किन यति भारी लाग्छ?

त्यो बेला मसँग रिङ थिएन। तिमी थियौ। आज रिङ छ। तिमी छैनौ।

यो दुई वाक्यबीच वर्षौँ छन्।


मलाई कलेजको एउटा दिन याद छ। ठ्याक्कै कुन मिति, थाहा छैन। कुन महिना - सायद त्यो पनि बिर्सिसकेँ। सम्झनाले सबै कुरा बचाएर राख्दैन। केही डिटेल मेटाउँछ, केही आवाज धमिलो बनाउँछ। तर त्यो दिनको गर्मी मलाई अझै याद छ।

असार हुन पर्छ सायद। त्यो उखुम दिउँसो। कक्षा पनि सकिएको हुन पर्छ। कलेजको बगैँचामा रूखको छहारी छ, तर हावा तातो। कतै घामले तताएको घाँस र माटोको गन्ध छ। पर कतै गाडीको आवाज आउँछ। हामी बगैँचाको सिमेन्टे बेन्चमा बसेका छौँ। तिम्रो कपाल निधारमा टाँसिएको छ।

बगैँचाभरि दुबो छ। खुट्टानेरै एउटा लामो दुबोको मुन्टा उठेको छ। म त्यसको पातलो डाँठ टिप्छु। तिमी तुरुन्तै हेर्छौ।

“के गर्नुभएको?”

“केही होइन।”

“तपाईंको ‘केही होइन’ फेरि सुरु भयो?”

“एकछिन न।”

“के?”

म त्यो डाँठलाई औँलाले मोड्न थाल्छु। गोलो बनाउँछु। एकचोटि चुँडिन्छ। फेरि अर्को टिप्छु। तिमी हेरिरहेकी छौ।

“के बनाउँदै हुनुहुन्छ?”

“रिङ।”

तिमी हाँस्छौ।

“यो?”

“हो।”

“यसलाई रिङ भन्नुहुन्छ?”

“फ्रिमा पाएको रिङ हो। धेरै कम्प्लेन नगर न। रियल चाहिँ पछि दिन्छु के।”

“कस्तो मान्छे।”

त्यो रिङ राम्रो छैन। कुनै डिजाइन छैन, चमक छैन, साइज मिलेको छैन। एउटा छेउ बाहिर निस्किएको छ। तर म तिम्रो हाततिर हेर्छु।

“हात देऊ।”

“किन?”

“देऊ न।”

“के गर्नुहुन्छ?”

“पहिला देऊ न।”

तिमी केहीबेर मलाई हेर्छौ। अनि हात अगाडि बढाउँछौ। तिम्रो औँला तातो छ, हत्केलामा हल्का पसिना। म त्यो दुबोको रिङ तिम्रो औँलामा लगाइदिन्छु।

एकछिन दुवै जना त्यसलाई हेर्छौँ। मिलेको छैन। खुकुलो छ। तर तिमी हात अलि माथि उठाउँछौ। रिङलाई हेर्छौ। फेरि मलाई। अनि हाँस्छौ।

त्यो मुस्कान। सायद यो कथा लेख्नुको एउटै कारण त्यही मुस्कान हो।

“अब यो लगाएर हिँड्नुपर्ने?”

“हो।”

“सिरियस्ली?”

“अफ कोर्स।”

“तपाईं पागल हुनुहुन्छ।”

“त्यो त पहिलेदेखि थाहा छ।”

त्यो बेला मलाई थाहा छैन - वर्षौँपछि म एउटा वास्तविक रिङ हातमा लिएर बस्नेछु, र मेरो सबैभन्दा प्रिय रिङ भने यही दुबोको डाँठ हुनेछ। जीवनले कुनै क्षणअघि चेतावनी दिँदैन - “यसलाई राम्ररी हेर। पछि यही धेरै याद आउनेछ।”

हामी सामान्य दिनलाई सामान्य जस्तै बाँचिरहेका हुन्छौँ।


एउटा कुरा मैले धेरै पछि मात्र बुझेँ। सुरुमा तिमीले मलाई “तिमी” नै भन्थ्यौ। कलेजको करिडोरमा, नोट माग्दा, जिस्क्याउँदा - “तिमी।” अनि जुन दिनदेखि हामी सँगै हिँड्न थाल्यौँ, ठीक त्यही दिनदेखि त्यो शब्द हरायो।

त्यो दिन मलाई अझै याद छ। कलेजको गेटबाहिर, चिया पसलनेर, मैले पहिलोपटक तिम्रो हात समातेको थिएँ। तिमीले हात छुटाइनौ। तर अलिबेरपछि भन्यौ - “तपाईं घर कसरी जानुहुन्छ?”

म हाँसेँ। “तपाईं? हिजोसम्म त ‘तिमी’ थिएँ नि।”

तिमीले भुइँतिर हेर्दै भन्यौ - “अब फरक भयो नि।” त्यो ‘फरक’ लाई मैले माया बुझेँ।

त्यसपछि अन्तिम दिनसम्म - “तपाईं।” मैले भने तिमीलाई सधैँ “तिमी” नै भनेँ। सुरुमा मलाई यो सामान्य लाग्थ्यो। पछि बिझाउन थाल्यो।

एकपटक मैले सोधेको थिएँ - “मलाई ‘तिमी’ भन न।”

तिमीले भन्यौ - “अब बानी छुट्यो।”

“फेरि बसाल न त।”

“पर्दैन। मलाई यसै ठीक छ।”

त्यति बेला मलाई त्यो एउटा बानी लाग्यो। आज लाग्छ - त्यो दूरी थियो। सानो, भद्र, नदेखिने दूरी। तिमीले सधैँ आफूलाई एक कदम पछाडि राख्यौ, र मैले त्यो कदम कहिल्यै नापिनँ। मैले सोचेँ, समयसँगै त्यो आफैँ मेटिन्छ। तर मेटिएन।

एकपटक मात्रै त्यो शब्द फर्केर आयो। एक साँझ म रिसाएको थिएँ। कुरा सानो थियो, रिस मेरो ठूलो थियो। तिमी शान्त थियौ। शान्तै रह्यौ। माहोल हल्का बनाउन तिमीले जिस्किँदै भन्यौ - “ए, तिमी त!”

सुन्नेबित्तिकै मलाई लाग्यो, तिमी मेरो त्यही पुरानो मागलाई जिस्क्याइरहेकी छौ। मभित्र केही अचानक तात्यो। मैले चर्को स्वरमा भनेँ - “अहिले पनि मजाक?”

तिमीले स्वर उठाएनौ। अनुहार मात्र एकैछिनमा बदलियो। अनि तिमी चुप लाग्यौ। त्यो कोठामा कराउने एक जना मात्रै थियो।

वर्षौँदेखि जुन शब्द म माग्दै आएको थिएँ, त्यो आउँदा मैले नै त्यसलाई पन्छाइदिएँ। त्यो मेरो गल्ती थियो।

सायद त्यही साँझ तिमीले भित्रभित्रै निर्णय गर्‍यौ - अब कहिल्यै भन्दिनँ। बरु अन्त्यमा त्यही दूरीले तिमीलाई सजिलो बनायो - टाढा जाँदा पनि तिमी औपचारिक शब्दकै आडमा जान सक्यौ। पछि आएको तिम्रो अन्तिम वाक्यमा पनि “तपाईं” नै थियो।


अर्को कुरा पनि म लुकाउँदिनँ। तिमी सजिलो मान्छे थिइनौ।

तिम्रो जिब्रो तीखो थियो। रिसाउँदा तिमी चिच्याउँदैनथ्यौ - चुप लाग्थ्यौ, र त्यो चुप्पी तीन-चार दिन चल्थ्यो। तिमीले पुराना कुरा राम्ररी सम्झिन्थ्यौ। झगडा हुँदा दुई वर्षअघिको एउटा वाक्य ठ्याक्कै मितिसहित निकाल्थ्यौ। तिमीलाई ढिलो हुने मान्छे मन पर्दैनथ्यो, र म सधैँ ढिलो पुग्थेँ। तिमी मलाई सबैका अगाडि जिस्क्याउँथ्यौ - “यो मान्छे आफ्नै बिहेमा पनि ढिलो पुग्छ, हेर्दै गर्नू।” सबै हाँस्थे। कहिलेकाहीँ त्यो जिस्काइ अलि बढी नै चर्को हुन्थ्यो।

म हाँसेर टारिदिन्थेँ। भित्रभित्रै टोकिन्थ्यो। मैले कहिल्यै भनिनँ - “त्यसो नभन।” त्यो पनि एउटा गल्ती थियो।

तर तिमी नै त्यही मान्छे हौ, जसले मेरो पहिलो इन्टरभ्युको अघिल्लो रात एघार बजेसम्म फोनमा बसेर मलाई प्रश्नहरू सोधिरह्यौ, सम्झाइरह्यौ। तिमी नै त्यही मान्छे हौ, जसले मेरो भान्जाको अस्पताल बसाइमा तीन दिन खाना बोकेर आयौ, र त्यसको चर्चा कहिल्यै गरेनौ।

बाटोमा जहाँ गुलाब फुलेको देख्यौ, तिमी रोकिन्थ्यौ। सधैँ ढिलो हुने म, त्यहीँ मात्र हतार गर्थेँ - “हिँड न।” आज गुलाबनेर म आफैँ रोकिन्छु। हतार गर्ने कोही छैन।

मानिस एउटै समयमा तीखो पनि हुन्छ, न्यानो पनि। तिम्रो नाममै देवी छिन्, तर म तिमीलाई देवी बनाएर नसम्झने कोसिस गर्छु। किनकि देवीको लागि दुःखी हुनु सजिलो छ। मान्छेको लागि दुःखी हुनु गाह्रो छ।

र मलाई गाह्रोवाला दुःख चाहिन्छ - त्यो मात्र साँचो हो।


कलेज सकियो। म जागिर खोज्न थालेँ। तीन ठाउँमा इन्टरभ्यु दिएँ, दुईमा फोन आएन, एउटामा तलब यति थियो कि कोठाभाडा तिरेपछि केही बाँकी रहँदैनथ्यो।

त्यो समयमा मसँग दुइटा कुरा धेरै थिए - योजना र “पछि।” “पछि गर्छु।” “एकदिन गर्छु।” “अलिकति सेटल भइहालूँ।” मलाई लाग्थ्यो, यी शब्द जिम्मेवारीका हुन्। तिमीलाई ती शब्द बहाना लाग्थे।

एक साँझ फोनमा तिमीले सिधै सोध्यौ।

“कहिले?”

“के कहिले?”

“तपाईंलाई थाहा छ मैले के सोधेको।”

म केहीबेर चुप लागेँ।

“अलिकति समय देऊ न।”

“कति?”

“थाहा छैन।”

“त्यही त।”

त्यो “त्यही त” मलाई आज पनि सुनिन्छ।

घरमा तिम्रो लागि कुरा चलिरहेको थियो। तिमीले मलाई भनेकी थियौ - एकपटक आएर बुबासँग बस्नुस्। मैले भनेँ - यो महिना गाह्रो छ। अर्को महिना जान्छु। अर्को महिना पनि गाह्रो भयो। त्यसपछिको महिना पनि।

म आफूलाई सम्झाउँथेँ - खाली हात गएर के भन्नु? अलि टेकेपछि जान्छु। अहिले सोच्छु - तिमीले मसँग तलबको प्रमाणपत्र मागेकी थिइनौ। तिमीले केवल यति चाहेकी थियौ, कि म आएर एउटा कोठामा बसूँ, र भनूँ - “म छु।” त्यति भन्न मलाई कुनै पैसा लाग्दैनथ्यो।

तर मलाई त्यो भन्न डर लागेको थियो, र मैले त्यो डरलाई “व्यस्तता” भन्ने राम्रो नाम दिएँ।


एउटा साँझ थियो - मंसिरको, चिसो सुरु भइसकेको। मेरो अन्तिम इन्टरभ्यु राउन्ड थियो। फोन साइलेन्टमा राखेको थिएँ। बाहिर निस्किएर हेर्दा - तिम्रा चार वटा मिस्डकल। मैले तुरुन्तै फोन गरिनँ।

किन गरिनँ? आज पनि मसँग राम्रो उत्तर छैन। सायद इन्टरभ्यु राम्रो भएको थिएन र म त्यो अनुहार लिएर तिमीसँग बोल्न चाहँदैनथेँ। सायद मलाई थाहा थियो, तिमीले फेरि उही प्रश्न सोध्छ्यौ, र मसँग फेरि उही उत्तर थियो।

म कोठा फर्किएँ। खाना खाएँ। ओछ्यानमा पल्टिएँ। फोन गरेँ - राति एघार बजेर बीस मिनेट जाँदा। तिमीले उठायौ। आवाज सुक्खा थियो।

“सुत्न लागेकी थिएँ।”

“सरी, इन्टरभ्यु थियो।”

“हुन्छ।”

“केही भन्नु थियो?”

केहीबेर चुप।

“थियो।”

“भन न।”

“अहिले होइन।”

“किन?”

“ठीक छ।”

त्यो “ठीक छ” कुनै झगडा थिएन। त्यसमा चर्को स्वर थिएन, आँसु थिएन, आरोप थिएन। त्यसैले मैले त्यसलाई गम्भीरतापूर्वक लिइनँ। मलाई लाग्यो, बिहान फोन गर्छु।

बिहान अर्को कम्पनीको फर्म भर्दै थिएँ। दिउँसो साथीको काममा गएँ। साँझ थकाइ लाग्यो। तीन दिनपछि मैले फोन गरेँ। तीन दिन - तिम्रो रिसको चुप्पी जति लामो। यसपटक चुप्पी मेरो थियो।

तिमीले उठायौ, राम्रोसँग बोल्यौ, हाँस्यौ पनि। तर केही सर्‍यो। जसरी भित्ताको चिरा - पहिलो दिन आँखाले भेट्दैन।

त्यसपछि पनि हामीले कुरा गर्‍यौँ। हप्ताको दुईपटक। अनि हप्ताको एकपटक। अनि “व्यस्त छु” को आदानप्रदान। अन्तिम म्यासेज तिम्रै थियो - “ठीक छ, तपाईं आफ्नो ख्याल राख्नुस्।” मैले “तिमी पनि” लेखेँ। त्यो ‘तिमी’ को जवाफ कहिल्यै आएन।

अनि एकदिन - केही थिएन।


मलाई सबैभन्दा गाह्रो काल बदल्न भयो।

“तिमी छौ” बाट “तिमी थियौ।”

“हामी छौँ” बाट “हामी थियौँ।”

“दिन्छु” बाट “दिन चाहन्थेँ।”

व्याकरण यति निर्दयी हुन्छ भन्ने मलाई पहिले थाहा थिएन। “छ” र “थियो” बीच केवल एउटा अक्षर छ।

र पूरा एउटा जीवन।


त्यो अन्तिम म्यासेजको दुई वर्षपछि, एउटा साथीको मोबाइलमा मैले तिम्रो फोटो देखेँ। रातो सारी। सिउँदोमा सिन्दूर। छेउमा एक जना मान्छे।

साथीले सामान्य स्वरमा भन्यो - “चिन्नुहुन्छ नि?”

मैले भनेँ - “हो, कलेजमा सँगै थियौँ।” अरू केही भनिनँ।

त्यो साँझ म धेरैबेर छतमा बसेँ। तिम्रो त्यो जिस्काइ याद आयो - “आफ्नै बिहेमा पनि ढिलो पुग्छ।” ढिलो होइन, म त पुग्दै पुगिनँ। मलाई रुन आएन। त्यसैले झन् डर लाग्यो। बरु एउटा अनौठो हल्कापन आयो - जस्तो कोही लामो समयदेखि एउटा ढोका खुला राखेर पर्खिरहेको थियो, र आज कसैले भन्यो, अब बन्द गर्नुस्।

त्यो राति मैले पहिलोपटक सोचेँ - अब कहिल्यै हुँदैन। अघिल्ला दुई वर्ष मैले त्यो वाक्य आफूलाई भन्न दिएको थिइनँ। र पहिलोपटक बुझेँ - मंसिरको त्यो रात, चार वटा मिस्डकलपछि, तिमीले “अहिले होइन” भनेको कुरा के थियो होला।


त्यसको तीन महिनापछि मैले रिङ किनेँ। कारण नसोध्नुस्। मसँग थिएन। सायद बगैँचामा भनेको त्यो “रियल चाहिँ पछि” मात्र थियो। तिमी गइसकेकी थियौ, तर प्रमिस मभित्रै बाँकी थियो।

न्युरोडको एउटा सानो पसल थियो। सिसाभित्र लहरै रिङहरू। पसलेले सोध्यो - “कस्तो चाहियो?”

“सिम्पल।”

“कसको लागि?”

मैले उत्तर दिइनँ। उसले फेरि सोधेन। सायद यस्ता ग्राहक उसले पहिले पनि देखेको थियो। अनि उसले त्यो प्रश्न सोध्यो, जसको लागि म तयार थिइनँ।

“साइज थाहा छ?”

म चुप भएँ। मलाई साइज थाहा थिएन। मलाई थाहा भएको केवल एउटा कुरा थियो - असारको एउटा दिउँसो, मैले तिम्रो औँला समातेको थिएँ, र त्यो मेरो कान्छी औँलाभन्दा अलिकति पातलो थियो। मैले पसलेलाई त्यही भनेँ।

उसले मलाई हेर्‍यो। केही भनेन। एउटा नाप निकाल्यो।

“यति हुन्छ होला। नमिले चेन्ज गर्न ल्याउनुस्।”

“हुन्छ।”

दुवैलाई थाहा थियो - म चेन्ज गर्न आउँदिनँ।

बाहिर निस्किँदा साँझ परिसकेको थियो। सडकमा हल्का धुलो थियो। मैले झोलामा बाकस राखेँ र सोचेँ - मैले अहिले के किनेँ?

रिङ त होइन। मैले एउटा प्रमाण किनेँ। कि त्यो असारको दिउँसो मैले कल्पना गरेको थिइनँ।


वर्षौँ बिते। तर एउटा कुराले मलाई अझै अप्ठ्यारो पार्छ। कुनै मान्छे जीवनबाट गएपछि उसको बारेमा आफूलाई थाहा भएका कुराहरू अनाथ भएर बस्दा रहेछन्। उसलाई यो गीत मन पर्थ्यो। यो खाना। यो रंग। यो फूल।

पहिले यी जानकारी काम लाग्थे - गिफ्ट छान्न, अचम्ममा पार्न, झगडापछि मनाउन। आज? कुनै काम छैन। तर मेटिन पनि सक्दैनन्।

फ्लावर सपअगाडि उभिँदा मलाई तुरुन्तै थाहा हुन्छ, तिमीले कुन बुके रोज्थ्यौ। त्यसपछि दोस्रो विचार आउँछ - “अब यो जानकारी लिएर के गर्ने?” त्यो प्रश्नले मन चिसो बनाउँछ।

फूल किन्न गाह्रो छैन। दिन गाह्रो छ।


एक दिन मैले गुलाब किनेर ल्याएँ। कसैलाई दिन होइन। आफ्नै टेबलमा राख्न। पानी भएको सानो गिलासमा।

पहिलो दिन ताजा थियो। दोस्रो दिन पनि। तेस्रो दिन किनार सुक्न थाल्यो। चौथो दिन डाँठ झुक्यो। मैले पानी बदलेँ, डाँठ काटेँ, गिलास झ्यालबाट तानेर छायाँमा राखेँ। पाँचौँ दिन पातहरू झर्न थाले।

त्यो हेर्दै मलाई एउटा कुरा स्वीकार गर्नुपर्‍यो, जुन मलाई मन पर्दैन - ख्याल गरेर मात्र सबै कुरा बाँच्दैनन्। मनलाई सरल स्पष्टीकरण मन पर्छ। “साँचो माया भए टिक्छ।” “प्रयास भए बचिन्छ।” तर कहिलेकाहीँ दुवै जना खराब हुँदैनन्, र सम्बन्ध पनि टिक्दैन। गुलाब सुक्यो भन्दैमा मैले पानी नै नदिएको हुँदैन।

तैपनि म यो उपमा पूरा गर्दिनँ। किनकि भित्रबाट अर्को आवाज आउँछ - “मानिस फूल होइन।” ठीक हो। मैले पानी दिन ढिलो गरेको थिएँ।

दुवै कुरा एकैचोटि सत्य हुन सक्छन्।


रिङ दराजमा बस्छ। कहिलेकाहीँ महिनौँ नखोली। एकपटक मैले सोचेको थिएँ - अरू कसैलाई दिन सकिन्छ। रिङलाई के थाहा कसका लागि किनेको? यसमा कुनै नाम कुँदिएको छैन।

तर बनावट छान्दा मैले तिम्रो हात कल्पना गरेको थिएँ। साइजभन्दा तिम्रो औँला। अब त्यो अर्को हातमा राख्नु वस्तु दिनु मात्र होइन। आफ्नो पुरानो अभिप्राय पनि त्यहीँ सारिदिनु हो। त्यो कसैप्रति अन्याय हुन्छ।

त्यसैले रिङ त्यहीँ बस्छ।


कहिलेकाहीँ म एउटा दृश्य कल्पना गर्छु। धेरै वर्षपछि, कतै, तिमी मेरो अगाडि छौ।

म भन्छु - “एउटा कुरा देखाऊँ?”

“के?”

“पहिला अनुमान गर। कलेजको कुरा।”

तिमी एकछिन सोच्छौ। अनि हाँस्छौ।

“त्यो दुबोको रिङ?”

“याद छ?”

“छ नि।”

त्यति सुन्दा मेरो छातीभित्र एउटा सानो शान्ति आउँछ। म बाकस खोल्छु। तिमी चुपचाप हेर्छौ। अनि भन्छौ -

“राम्रो छ।”

त्यति मात्रै। न तिमी लिन्छौ। न म दिन्छु। मेरो कल्पना त्यहीँ रोकिन्छ।

पहिले म यो दृश्यलाई अगाडि बढाउन खोज्थेँ - तिमी लिन्छौ कि लिँदैनौ, हाँस्छौ कि रिसाउँछौ। अब खोज्दिनँ। किनकि मैले बुझेँ - मलाई तिमीले रिङ लिएको चाहिएको होइन। मलाई तिमीले सम्झेको चाहिएको हो।

“छ नि।”

त्यति भए पुग्थ्यो। र त्यो पनि मैले आफैँलाई भन्ने गरेको वाक्य हो। मलाई थाहा छैन तिमीलाई साँच्चै याद छ कि छैन। झगडामा दुई वर्षअघिको वाक्य मितिसहित निकाल्ने तिमी - सायद यो चाहिँ बिर्सियौ।

तिम्रो लागि त्यो एउटा दिउँसो थियो। मेरो लागि त्यो प्रतीक भयो। एउटै घटना दुई मानिसको जीवनमा बराबर तौलले बस्दैन। यो स्वीकार्न गाह्रो छ। तर स्वीकार गर्नैपर्छ।


तर ‘सम्झेको चाहिएको हो’ भन्नु पनि पूरा सत्य थिएन। एकदिन मैले आफैँलाई अझ सिधा प्रश्न गरेँ -

“तँलाई रिङ दिन मन छ, कि त्यो दिन फर्काउन?”

म चुप भएँ। न रिङ, न सम्झाइ। मलाई त्यो असारको दिउँसो चाहिएको हो। त्यो तातो हावा। त्यो गाडीको आवाज। तिम्रो पसिना आएको हत्केला। मेरो बालसुलभ उत्साह।

मलाई पाँच मिनेटको त्यो वर्तमान चाहिएको हो। त्यो कुनै पसलमा किन्न पाइँदैन।


एक बिहान बाटोमा फेरि गुलाब देखेँ। रातो। घामको उज्यालोमा। म रोकिएँ। पहिलो विचार - तिमी। सधैँ जस्तै। तर त्यो दिन एउटा दोस्रो वाक्य पनि आयो।

“मलाई पनि मन पर्न थालेको छ।”

म केहीबेर त्यहीँ उभिएँ। पहिले म गुलाबलाई तिमीमार्फत मात्र देख्थेँ। त्यो दिन मैले फूललाई फूल जस्तै हेरेँ। सानो कुरा हो। तर वर्षौँपछिको पहिलो नयाँ कुरा थियो।

अनि काँडामा आँखा पर्‍यो। गुलाब मन पराउनु भनेको काँडा नभएको चाहनु होइन। हाम्रो कथा पनि त्यस्तै थियो।

त्यहाँ फूल पनि थियो, काँडा पनि। माया, अहम्, हाँसो, तीखो वाक्य, नजिकपन, ढिलाइ - सबै। अब म एउटा हिस्सा मेटाएर अर्को मात्र बचाउन चाहन्नँ।


रिङ छ। तिम्रो लागि किनेको। दिन सकिनँ। अफसोस यति छ।

म यसलाई दार्शनिक वाक्यले छोप्न चाहन्नँ। तर अब यसले मलाई एउटा कुरा सम्झाइरहन्छ। जब मसँग केही थिएन, मैले एउटा दुबोको डाँठ दिएँ। त्यो समयमा पुग्यो। जब मसँग वास्तविक रिङ आयो, समय गइसकेको थियो। यो पुगेन।

त्यसैले अचेल म ढिलो गर्न डराउँछु। एउटा फोन। एउटा “म छु।” एउटा “माफ गर।” एउटा “मलाई डर लागिरहेको छ।” यी साना कुरा हुन्। तर सही समयमा भनियो भने - कुनै हीराको रिङभन्दा महँगा।

किनकि सबै “पछि” आउँदैनन्। सबै “एकदिन” वास्तविक हुँदैनन्।


आँखा बन्द गर्छु। अन्तिमपटक त्यो दृश्य मनमा ल्याउँछु। असारको दिउँसो। तातो हावा। पर कतै गाडीको आवाज। तिमी बगैँचाको बेन्चमा बसेकी छौ। म दुबो मोडिरहेको छु।

“के बनाउँदै हुनुहुन्छ?”

“रिङ।”

“यसलाई रिङ भन्नुहुन्छ?”

“हो।”

म तिम्रो हात समात्छु। औँलामा लगाइदिन्छु। तिमी हात उठाएर हेर्छौ। फेरि मलाई। अनि हाँस्छौ।

म दृश्य त्यहीँ रोक्छु। यसपटक त्यसपछि केही थप्दिनँ। न मौनता। न रातो सारी। न पसलेको प्रश्न। न पछुतो। केवल त्यो क्षण। किनकि त्यो क्षण आफैँमा पूर्ण थियो। पछि भएका कुराले त्यसलाई अधुरो बनाउनु पर्दैन।

हामी त्यतिबेला खुशी थियौँ।


आँखा खोल्छु। म आजको कोठामा छु। आजको म। आजको रिङ। आजको मौनता। पहिले यही भिन्नताले मलाई भत्काउँथ्यो। अहिले पनि दुख्छ - तर अलि फरक तरिकाले।

म उठ्छु। झ्यालबाहिर हेर्छु। कसैको आँगनमा एउटा गुलाब फुलेको छ। मनमा तिमी आउँछौ। यसपटक म केवल मुस्कुराउँछु। मनमनै भन्छु - “तिमीलाई गुलाबको फूल मन पर्थ्यो।”


म बाकसतिर फर्किन्छु। खोल्छु। रिङ उठाउँछु। धेरै वर्षपछि आज मैले एउटा निर्णय गरेको छु। म यसलाई दराजमा राख्दिनँ। फाल्दिनँ पनि।

आमाले लगाइदिएदेखि कहिल्यै नफुकालेको जन्तरको डोरी, आज पहिलोपटक फुकाल्छु। त्यसमा रिङ उन्छु। आमाको जन्तर। र नदिइएको रिङ। दुवैलाई फेरि घाँटीमा लगाउँछु।

कमिजभित्र कसैले देख्दैन। म दिनभरि बिर्सिन्छु। तर कतै गुलाब फुलेको देख्दा - पाइला रोकिन्छन्, र छातीमा एउटा सानो चिसो मेटल दबिन्छ।

त्यति नै। त्यति नै पर्याप्त छ।