Nabin Sapkota
अपरिचितका सम्झनाहरू (Strangers with Memories) cover

अपरिचितका सम्झनाहरू

Strangers with Memories

September 7, 2026 · 10 min read

२१ भदौ २०८३

रातको बाह्र बज्न केही मिनेट बाँकी छ। कोठामा म एक्लै छु।

अगाडि कम्प्युटर खुलै छ, तर धेरै बेरदेखि केही काम भइरहेको छैन। एउटै डकुमेन्ट खुलेको धेरै बेर भइसक्यो। कर्सर लगातार निभ्दै र बल्दै - लेख्न बाँकी केही छ भनेर सम्झाइरहेजस्तो।

तर के लेख्ने? कसलाई लेख्ने? अनि लेखेर नै के हुन्छ र?

झ्यालबाहिर काठमाडौं अझै पूरै सुतेको छैन। कतै टाढाबाट बाइकको आवाज आउँछ। गल्लीमा कुकुर भुक्छ। अर्को घरको झ्यालमा बत्ती बलिरहेको छ। सडकमा कहिलेकाहीँ कुनै गाडीको आवाज आउँछ र फेरि हराउँछ।

शहर आफ्नै गतिमा छ। मेरो समय भने आज अलि फरक छ।

टेबलमाथि मोबाइल उल्टो राखेको छु - नहेर्ने भनेर। तर आँखा बारम्बार त्यतै जान्छ। मलाई कसैको फोन आउनुपर्ने छैन। कसैको म्यासेजको प्रतीक्षा गर्नु पर्ने छैन। आज मेरो जन्मदिन पनि होइन।

तर म घडी हेरिरहेको छु।

रातीको ११:५८

पानीको गिलास उठाउँछु। एक घुट्को पिउँछु। फेरि मोबाइल हेर्छु।

११:५९

एक मिनेट। केवल साठ्ठी सेकेन्ड। तर यही साठ्ठी सेकेन्डभित्र कति धेरै सम्झना अटाउँछन्।

म कम्प्युटर हेरिरहन्छु। मिति फेरिन्छ।

२२ भदौ २०८३ राती १२ बझे।

म केही सेकेन्ड चुप बस्छु। कोठामा कोही छैन, तैपनि आवाज अलि सानो बनाउँछु;

“जन्मदिनको शुभकामना।”

त्यति भनेपछि छातीभित्र केही अड्किएजस्तो हुन्छ। म फेरि भन्छु -

“जन्मदिनको शुभकामना, सानु।”

बस्। न फोन गर्छु। न म्यासेज पठाउँछु। न तिमीले सुन्छौ। न तिमीलाई थाहा हुन्छ।

तर आज पनि रातको ठीक बाह्र बजे मेरो मनले तिम्रो जन्मदिन बिर्सन सक्दैन।

कुनै समय म तिम्रो जीवनमा के थिएँ, त्यो म जान्थेँ जस्तो लाग्थ्यो। आज म तिम्रो जीवनमा कहाँ छु, थाहा छैन। सायद कतै पनि छैन।

अनि तिमी मेरो जीवनमा कहाँ छौ? त्यसको जवाफ झन् गाह्रो छ। किनकि तिमी यहाँ छैनौ। तर तिम्रा सम्झनाहरू छन्। तिम्रो आवाज छ। तिम्रो हाँसो छ। तिमीले मलाई “तपाईं” भनेर बोलाउने तरिका छ।

तिमी छैनौ, तर तिमी भएका दिनहरू अझै छन्।

सायद हामी अहिले अपरिचित छौँ। सम्झनाहरू बोकेका अपरिचित।

कस्तो अजीब सम्बन्ध। एकअर्काको आज थाहा छैन, तर कुनै समयको हिजो अझै कण्ठ छ। तिमीलाई ती कुरा अझै याद छन् कि छैनन्, मलाई थाहा छैन। मसँग चाहिँ छन्। सायद आवश्यकताभन्दा धेरै।

मोबाइल उठाउँछु। केही क्षण डकुमेन्ट हेर्छु। फेसबुक खोल्न मन लाग्छ, तिम्रो नाम खोज्न, आज जन्मदिनका तस्बिर आएका छन् कि भनेर हेर्न। कसले शुभकामना दियो? तिमी कहाँ छौ? कस्तो देखिएकी छौ? खुशी छौ कि छैनौ?

तर म आफैँलाई रोक्छु।

“नहेर।”

मनबाट अर्को आवाज आउँछ - “एकपटक मात्रै।”

“हरेकपटक यही भन्छस्।”

“आज उनको जन्मदिन हो।”

“अनि?”

“बस्... हेर्न मन लाग्यो।”

“हेरेपछि?”

मसँग जवाफ छैन। मोबाइल फेरि राख्छु। आफूसँग बहस गर्न पनि कति थकाइ लाग्छ।

तर मोबाइल राख्दैमा तिमी हराउँदिनौ। तिमी त कम्प्युटरको डकुमेन्टभन्दा पहिले मेरो सम्झनामा खुलिसकेकी छौ।

मलाई सबै कुरा याद छैन। समयले धेरै सम्झनाहरू बिस्तारै खाइरहेको छ। कुन दिन के लगाएकी थियौ, कहाँ गएका थियौँ, कुन संवाद कुन मितिमा भएको थियो; धेरै कुरा एकअर्कामा मिसिइसकेका छन्।

तर केही आवाज अझै स्पष्ट छन्। अचम्मसँग स्पष्ट।

तिमी भन्थियौ - “तपाईं धेरै सोच्नुहुन्छ।”

म सायद तुरुन्त भन्थेँ - “सोच्दिनँ।”

तिमी हाँस्थ्यौ, “यो जवाफ दिनुअघि पनि सोच्नुभयो।”

मलाई अहिले पनि त्यो संवाद सम्झिँदा हाँसो आउँछ।

तिमीले मलाई सधैँ “तपाईं” भन्थ्यौ। त्यो शब्द अरू कसैले प्रयोग गर्दा सामान्य लाग्छ। तर तिम्रो आवाजमा फरक सुनिन्थ्यो। मलाई थाहा छैन किन। सायद प्रेममा शब्दको अर्थ शब्दकोशले तय गर्दैन। कसले कसरी बोल्छ, त्यसले तय गर्छ।

कहिलेकाहीँ अहिले पनि मनभित्र तिम्रो आवाज आउँछ -

“तपाईंले खाना खानुभयो?”

“अ, खाएँ।”

“झूट।”

“किन?”

“खाएको भए यति छिटो ‘खाएँ’ भन्नुहुन्न थियो।”

“तिमीलाई सबै थाहा हुन्छ है?”

“सबै होइन।”

“अनि?”

“तपाईंको चाहिँ अलिअलि।”

त्यो “अलिअलि” कति ठूलो थियो, त्यतिबेला थाहा भएन। आज एउटा मानिसको बारेमा केही पनि थाहा नहुँदा बल्ल बुझिन्छ।

कुनै समय तिमीलाई मेरो दिनको अलिअलि होइन, धेरै कुरा थाहा हुन्थ्यो। आज म कहाँ छु, के गर्दै छु, कस्तो छु - सायद केही थाहा छैन। मलाई पनि तिम्रो बरेमा थाहा छैन।

यही त अपरिचित हुनु हो सायद।

तर अपरिचितहरूसँग सामान्यतया यति धेरै सम्झना हुँदैनन्। मसँग हाम्रो छन्। त्यसैले झन् गाह्रो छ। कहिलेकाहीँ एउटा पुरानो रात याद आउँछ। पूरा घटना होइन, केवल फोनको अन्तिम केही मिनेट।

“सानु, निद्रा लग्यो नि।”

“सुत्नुस् न त।”

“फोन राख ल।”

“किन मैले रख्ने?”

“अनि तिमीले फोन गरेको होइन?”

“यस्तो पनि नियम हुन्छ र?”

“हुन्छ नि।”

“अनि कसले बनाएको?”

“मैले।”

“कस्तो बेकारको नियम।”

“ठीक छ, म राख्छु नि त।”

“राख्नुस्।”

म एकछिन चुप लाग्छु। उताबाट फेरि -

“राख्नुस् न।”

“होइन, तिमी राख।”

“नाई, तपाईं राख्नुस्।”

यति सानो कुरा। यति अर्थहीन। तर आज त्यही कुरा सम्झिँदा मन किन भारी हुन्छ?

सायद त्यो फोन कसले राख्ने भन्ने कुरा थिएन। दुवैलाई त्यो कल सकियोस् भन्ने मन थिएन।

त्यो बेला म प्रेममा ठूला वाचाहरू खोज्थेँ। आज थाहा हुन्छ - प्रेम धेरैपटक यस्तै साना वाक्यहरूमा लुकेको हुँदो रहेछ।

“खाना खानुभयो?”

“घर पुगेपछि भन्नुस् ल।”

“किन चुप हुनुहुन्छ?”

“आज तपाईं ठीक हुनुहुन्न, हो?”

“सुत्नुस् अब।”

त्यतिबेला यी सामान्य लाग्छन्। जब ती प्रश्न सोध्ने मान्छे जीवनबाट जान्छ, तब बल्ल थाहा हुन्छ - वास्ता गर्नुको आवाज कस्तो हुँदो रहेछ।

तिमीलाई सम्झिँदा राम्रो कुरा मात्र आउँदैन। मेरो आफ्नै अनुहार पनि आउँछ। त्यो पुरानो म।

असुरक्षित। हरेक कुरा धेरै सोच्ने। छिट्टै चित्त दुखाउने।

भित्र डर लागिरहेको बेला बाहिर रिसाउने। “मलाई डर लागिरहेको छ” भन्न नसक्ने, त्यसको सट्टा - “तिमीलाई मेरो मतलब छैन” भन्ने।

तिमीले सम्झाउन खोज्दा आफ्नै निष्कर्ष बोकेर बस्ने। तिमी चुप हुँदा तिमीलाई वास्ता छैन भन्ने अर्थ निकाल्ने। तिमी व्यस्त हुँदा आफूबाट टाढा भइरहेको ठान्ने।

मलाई लाग्थ्यो, म धेरै माया गर्छु। सायद गर्थेँ पनि। तर प्रेमसँगै एउटा ठूलो डर पनि थियो। तिमीलाई गुमाउने डर। र कहिलेकाहीँ त्यो डर प्रेमभन्दा ठूलो भएर बोल्थ्यो।

आज बुझ्छु - कसैलाई गुमाउने डरले हामी उसलाई अझ नजिक तान्न खोज्छौँ। बारम्बार आश्वासन खोज्छौँ। बारम्बार प्रश्न गर्छौँ। बारम्बार आफ्नो उपस्थिति पुष्टि गर्न खोज्छौँ। र कहिलेकाहीँ त्यही प्रयासले अर्को मानिसलाई थकाउँछ र साथ छोड्न बाध्य बनाउछ।

त्यो बेला यो कुरा बुझ्ने परिपक्वता मसँग थिएन। आज छ। तर आज तिमी छैनौ।

जवाफ तब आउँछ, जब प्रश्न सोध्ने मान्छे गइसकेको हुन्छ।

हाम्रो अन्तिम क्षणको कुनै नाटकीय सम्झना छैन। कुनै विमानस्थल थिएन। पानी परेको सडक थिएन। कुनै अन्तिम अङ्गालो थिएन, जसलाई सम्झेर म भन्न सकूँ - यही थियो हाम्रो अन्त्य।

वास्तविक जीवनमा सम्बन्धहरू सधैँ त्यति स्पष्टसँग सकिँदैनन्।

कहिलेकाहीँ अन्तिम संवाद हुँदा त्यो अन्तिम हो भन्ने थाहा हुँदैन। सायद एउटा सामान्य दिन हुन्छ।

“पछि कुरा गरौँला है।”

“हजुर, आफ्नो ख्याल राख्नुस् ल।”

“तिमी पनि।”

बस्।

हामीलाई लाग्छ, अर्को दिन छ। अर्को फोन आउँछ। अर्को मौका छ। तर कुनै दिन त्यो “अर्को” आउँदैन। अनि बिस्तारै बुझिन्छ - कथा सकिसकेको रहेछ। म चाहिँ अन्तिम पाना स्वीकार्न तयार भएको रहेनछु।

तिमीले मलाई छोड्यौ। म ढोका बन्द भइसकेपछि पनि ह्यान्डल समातेर उभिइरहेँ। तर बन्द ढोका धेरै बेर समातेर बस्दा पनि खुल्दैन, हात मात्र दुख्छ। यो कुरा बुझ्न मलाई धेरै समय लाग्यो। र त्यो समयसम्म म आफूलाई निकै टाढा पुर्‍याइसकेको थिएँ।

तिमी गएपछि म हराएँ। साँच्चै हराएँ। बाहिरबाट उही देखिन्थेँ - बिहान उठ्ने, कपडा लगाउने, अफिस जाने। तर यी सबै काम शरीरले गरिरहेको हुन्थ्यो। मन कतै थिएन।

सुरुमा चुरोट। “एउटाले के हुन्छ?”

त्यसपछि रक्सी। “आज मात्रै।”

पछि गाँजा। “यसले कम्तीमा केही बेर सोच्न दिँदैन।”

होस हुँदा दिमागमा तिमी हुन्थ्यौ, नशामा हुँदा केही समय आवाज कम हुन्थ्यो। तर दुःख महसुस नगर्नु र दुःख निको हुनु एउटै कुरा होइन भन्ने मैले बुझिनँ।

म नशामा अफिस जान थालेँ। काम बिग्रिँदै गयो। सिनियरहरूसँग झर्किएँ। अन्ततः जागिर गुमाएँ।

त्यो दिन बाहिर निस्कँदा हातमा जागिर थिएन, मनमा तिमी थियौ। म आफैँबाट यति टाढा कसरी आइपुगेँ?

कुनै समय तिमी भन्थ्यौ - “तपाईं आफ्नो ख्याल राख्नुस् है, अनि चुरोट नखानु ल।”

म सहजै भन्थेँ - “हस।”

अहिले तिम्रो त्यो आवाज सम्झिन्छु। मनभित्र तिमी फेरि भन्छौ। म उत्तर दिन्छु - “राख्न सकिनँ र नखाई बस्न पनि सकिन।”

“किन?”

“थाहा छैन।”

अन्ततः मैले थेरापी गएँ। औषधि सुरु भयो, जुन आज पनि खाइरहेको छु। म ठीक हुन खोजिरहेको छु। यो कमजोरी होइन, यो बच्ने प्रयास हो।

आफूलाई सम्हाल्ने यो यात्रा मैले सोचेजस्तो हुँदैन रहेछ। कहिले तीन दिन राम्रो हुन्छ। चौथो रात अचानक तिमी यादमा आउँछौ। कहिले हप्तौँ सामान्य हुन्छ। अनि कुनै गीत, कुनै मिति वा कसैले भनेको एउटा “तपाईं” शब्दले फेरि छाती भारी बनाउँछ।

म एउटा कुरा लुकाउन चाहन्नँ। आज पनि म सोसियल मिडियामा तिमीलाई खोज्छु। यो लेख्दा लाज लाग्छ, तर सत्य यही हो।

फेसबुक खोल्छु। टिकटक हेर्छु। कहिलेकाहीँ तिम्रो नाम खोज्छु र त्यत्तिकै तिम्रो फोटो हेरेर बस्छु। मलाई थाहा छ, यसले मलाई राम्रो गर्दैन। सायद तिमी कस्ती छौ भनेर जान्न। सायद तिम्रो नयाँ जीवनमा आफ्नो पुरानो अस्तित्वको कुनै निशान खोज्न।

अनि तिमीलाई खुशी देख्छु। हाँसिरहेकी, बाँचिरहेकी।

मनको एउटा भागलाई राम्रो लाग्छ। तर अर्को भाग तुरुन्त उठ्छ, जसले मलाई गाली गर्छ।

“हेर् त, ऊ कति खुशी छे।”

“सायद तँ नै उसको जीवनको काँडा थिइस्।”

“तँ हुँदा उसको जीवन अँध्यारो रहेछ।”

“तँलाई छोडेपछि ऊ खुशी भई।”

म भित्रबाट भत्किन्छु। तिम्रो एउटा मुस्कान हेरेर म आफ्नो पूरा अस्तित्वमाथि फैसला सुनाइदिन्छु।

तर म बिस्तारै आफैँलाई सम्झाउँदै छु। सोसियल मिडियामा देखिएको एउटा मुस्कानले हाम्रो सम्पूर्ण विगतको सत्य प्रमाणित गर्दैन। तिमी आज हाँसिरहेकी छौ भनेर मसँग बिताएको हरेक दिन अँध्यारो थियो भन्ने हुँदैन।

मैले गल्ती गरेँ। मैले तिमीलाई चोट दिएँ। तर त्यसैले म आफैँलाई तिम्रो जीवनको सम्पूर्ण अँध्यारो घोषित गर्न सक्दिनँ। त्यो फैसला गर्ने अधिकार तिम्रो हो, मेरो आत्मग्लानिको होइन।

एकदिन आफैँलाई सोध्छु - “तँ वास्तवमा उसलाई याद गर्छस्?”

पहिले जवाफ तुरुन्त हुन्थ्यो - “गर्छु।”

अहिले त्यति सरल छैन। म तिमीलाई याद गर्छु। तर तिमीसँग हुँदा भएको आफूलाई पनि याद गर्छु। फोन बज्दा तुरुन्त हेर्ने, तिम्रो सन्देश देख्दा मुस्कुराउने, तिमी हाँस्दा कारण नबुझी आफैँ हाँस्ने। त्यो म अहिले कहाँ छ?

मानिसले सम्बन्ध गुमाउँदा केवल अर्को मानिस गुमाउँदैन, उससँग जोडिएको आफ्नो एउटा पाटो पनि गुमाउँछ।

यति समयपछि म एउटा कुरा बुझ्दै छु - कसैले मलाई छोडेर जान सक्छ, तर त्यसपछि मैले आफूलाई पनि छोड्नुपर्छ भन्ने छैन।

कति वर्ष म अन्तिम क्लोजर तिमीबाट आउने कुनै शब्द हो भन्ने सोच्थेँ। “माफ गर्नुस्” वा “तपाईंको गल्ती थिएन।”

तर अन्तिम क्लोजर कहिलेकाहीँ अर्को मान्छेले दिँदैन। एकदिन हामी आफ्नै प्रश्नहरूसँग थाक्छौँ। आफ्नै “किन?” र “काश...” सँग। अनि आफ्नै मनलाई बिस्तारै भन्छौँ - “बस्। अब यो कथा बदलिँदैन।”

त्यो वाक्य कठोर छ, तर त्यसमा एउटा शान्ति पनि छ। हामीले गरेको प्रेम व्यर्थ हुँदैन, केवल स्थायी हुँदैन।

मानिसहरू सधैँ हाम्रो जीवनमा बस्न आउँदैनन्। केही मानिस जान्छन्, तर उनीहरूले हामीभित्र एउटा ऐना छोडेर जान्छन्। त्यो ऐनामा हामी उनीहरूलाई मात्र होइन, आफूलाई पनि देख्छौँ। अनि एकदिन बुझिन्छ, आफूलाई सम्हाल्नु भनेको त्यो ऐना फुटाउनु होइन रहेछ। त्यसमा आफूलाई हेर्न सक्ने हुनु रहेछ - लाजले होइन, दयाले।

म पूर्ण रूपमा ठीक भएको छैन। अझै कमजोर रातहरू आउँछन्। तर एउटा परिवर्तन आएको छ। पहिले म सम्झनाभित्रै बसिरहेको थिएँ, अहिले म सम्झनालाई बोकेर बाँच्न सिक्दै छु।

यही शान्त रातमा म अचानक नेटफ्लिसमा हेरेको ‘मुसाफिर क्याफे’ सम्झिन्छु। त्यो मेरो लागि एउटा असम्भव कल्पनाको प्रतीक हो।

म कल्पना गर्छु - सायद वर्षौँपछि तिमी ढोकाबाट भित्र आउँछौ। म पहिले नै एउटा टेबलमा बसेको छु।

तिमी मलाई देख्छौ। नजिक आउँछौ। अनि भनछौ -

“धेरै बेर भयो?”

म पुरानै जवाफ दिन्छु - “छैन।”

तिमी हल्का हाँस्छौ। “अझै झूट बोल्नुहुन्छ?”

म पनि हाँस्छु। “अलिअलि।”

कफी अगाडि छ। धेरै वर्षका नभनिएका कुराहरू हाम्रो बीचमा छन्।

तिमी सोध्छौ -

“कस्तो हुनुहुन्छ?”

म भन्छु -

“ठीक छु।”

तिमी मेरो आँखामा हेर्छौ र फेरि सोध्छौ -

“साँच्चि?”

त्यो कल्पनामा म तिमीलाई मेरो जीवनमा फर्केर आऊ भनिरहेको हुन्नँ। विगत फेरि सुरु गरौँ भनिरहेको हुन्नँ। म केवल एकपटक, दुई अपरिचितजस्तो होइन, साझा सम्झना भएका दुई मानिसजस्तो तिम्रो अगाडि बस्न चाहन्छु।

म तिमीलाई सुनाउन चाहन्छु - “तिमी गएपछि म हराएँ। जागिर गयो। अहिले औषधि खान्छु।”

तर म चाहन्नँ तिमीलाई आत्मग्लानि होस्। त्यसैले तुरुन्त भन्छु - “तिम्रो दोष होइन। तिमी जानु एउटा घटना थियो। त्यसपछि मैले आफूलाई के गरेँ, त्यो मेरो कथा हो।”

यसपटक तिमीलाई दोष नदिई, आफूलाई बचाउन नखोज्दै केवल सत्य बोल्न चाहन्छु।

तर अचानक कल्पना टुट्छ। आँखा खुल्छ।

तिमी छैनौ। क्याफे छैन। कफी छैन। म आफ्नै कोठामा छु।

वास्तविक जीवनमा धेरैपटक कोही फर्केर आउँदैन। केवल अर्को सम्झना आउँछ। अर्को रात। अर्को वर्ष। अनि अर्को जन्मदिन।

कहिलेकाहीँ प्रेमको अन्तिम सम्मान भनेको बोल्न मन लाग्दा पनि अर्को मानिसको मौनतालाई नबिथोल्नु रहेछ। मलाई अझै म्यासेज पठाउन मन लाग्छ। तिमीलाई सम्झिनु मेरो कमजोरी होइन, तर हरेक इच्छा पूरा गर्नैपर्छ भन्ने पनि छैन।

कम्प्युटरको डकुमेन्ट अझै खुलै छ। कर्सर अझै निभ्दै र बल्दै छ। सुरुमा मलाई लागिरहेको थियो, के लेख्ने? अहिले लाग्छ - सायद यति नै लेख्नु थियो। तिमीलाई पठाउन होइन। आफूले सुन्न। मभित्र वर्षौँदेखि अड्केका वाक्यहरूलाई एकपटक बाहिर आउन दिन। किनकि सबै कुरा जसलाई भन्न मन छ, उसैलाई भन्न जरूरी हुँदैन।

सायद त्यो मुसाफिर क्याफेमा जस्तै फेरि आइदेऊ न।

मसँग बसेर कुरा गरिदेऊ न।

यति वर्षमा छुटेका कुरा सुनाऊ न।

एकपटक पहिलेजस्तै मायाले हेरिदेऊ न...

तर म आफैँलाई थाहा छ, अब त्यो सम्भव छैन।

र अन्तिम पटक -

“तिमीलाई जन्मदिनको शुभकामना छ, सानु।“